काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मंगलबार मृत भेटिएकी छिन् ।
नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएको जानकारी गराए ।
प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी २२ वर्षिया सन्जु बिहान बन्द कोठामा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रशिक्षक महर्जनको घरमा आयोजित जात्राको भोजमा सामान्य अवस्थामा सामेल भएकी सन्जु बिहान मृत भेटिएकी हुन् ।
भोजमा संघका अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी उपस्थित रहेका थिए । अध्यक्ष श्रेष्ठले भोजमा सामान्य अवस्थामा रहेकी सन्जुबारे बिहान यस्तो खबर आएको बताए ।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता बिष्णु कुमार केसीले घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिएको र अनुसन्धानपछि थप जानकारी आउने बताए ।
१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।
उनी एसियन गेम्सका लागि प्रारम्भिक छनोटमा परेकी थिइन् ।
बाँके घर भएकी सन्जुले १३ औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् ।