काठमाडौं । नेपाल ब्यायाम मन्दिरले आयोजना गरेको शारिरीक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्मश्रीको १६ औं संस्करण विवादमा परेको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सकिएको प्रतियोगितामा पहिलो पटक पुरुष तथा महिला फिजिक विधा थप गरिएको थियो । तर, त्यहिँ विधा यतिबेला विवादित बनेको छ ।
फिजिक विधामा सहभागी खेलाडीले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा धाँधली भएको आरोप लगाएका छन् ।
फिजिकको पुरुष विधामा प्रतिस्पर्धा गरेका सागर विक, अवतार श्रेष्ठ, अनुज मास्के, गोपाल लिम्बु, बिशुराम केसी तथा महिलाका सनम मुलगुढी र पुजा श्रेष्ठले पत्रकार सम्मेलन गर्दै धाँधली भएको आरोप लगाएका हुन् ।
युकेबाट प्रतियोगिता खेल्न नेपाल आएका सागरले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको तर शरिर ठूलो भएको बताउँदै यस पटक आफुलाई शीर्ष १५ मा नपारिएको बताए ।
निर्णायक मण्डललाई यसबारे जानकारी माग्दा सागरको ज्यान अन्तराष्ट्रिय स्तरको भएको र नेपालमा यस्तो ज्यान हुनुहुन्न भन्ने जवाफ पाएको उनले बताए । उनले भावी पुस्ताका खेलाडीका यस्तो नहोस भनेर मुख खोलेको बताए ।
ताप्लेजुङका गोपालले प्रतियोगिताको फाइनलको दिन सागरकै समस्या भोगेको बताए । दर्शकको नजरमा गोपाल स्पष्ट विजेता देखिएपनि उनलाई छैटौं स्थानमा राखेर ४८ ट्याग नम्बरका खेलाडीलाई उपाधि दिईएको उनीहरुले आरोप लगाए ।
फिजिकको पुरुषतर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिलातर्फ द फिटनेश टेम्पल भक्तपुरकी जासमिन लामाले उपाधि जितेका थिए ।
यस्तै अर्का खेलाडी अवतारले सुरुआतमा केहि जानकारी नगराएको तर प्रतियोगिताको समयमा ठूलो शरीर भनेको भन्दै शीर्ष १५ मा नराखिएको बताए ।
महिलातर्फकी प्रतिस्पर्धी सनमले प्रतियोगितामा रहेका निर्णायकले प्रतिस्पर्धीबीच तुलना नगरेको र पर्याप्त समय नदिएको बताईन् । उनले प्रतिस्पर्धा गर्दा लगाउने पोशाकबारे समेत जानकारी नदिएको बताईन् ।