काठमाडौं । चीनमा आयोजना हुने १९ औं संस्करणको एसियाली खेलकुद (एसियन गेम्स) स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको कारण चीनको हाङझावमा तय भएको एसियन गेम्स स्थगित गरिएको हो ।
ओलम्पिक काउन्सिल अफ एसियाले शुक्रबार एसियन गेम्स स्थगित गरिएको जनाएको छ ।
काउन्सिलले चिनियाँ ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँगको छलफलपछि स्थगित गरिएको जनाएको छ ।
एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो ।
नयाँ मिति पछि घोषणा गरिने ओलम्पिक काउन्सिलले जनाएको छ ।
नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । अधिकांस खेलले खेलाडी छनोट गरिरहेको थियो ।
नेपालबाट तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले सहभागिता जनाउने तयारी भईरहेको थियो ।