हेटौंडा । मकवानपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा उद्यमी बीके बोसको निधन भएको छ ।
ब्याडमिन्टनका भेट्रान खेलाडी समेत रहेका बोसको मंगलबार दिउँसो चितवनस्थित चितवन मेडिकल कलेजमा निधन भएको हो ।
६१ वर्षीय बोस लामो समयदेखि खुट्टाको क्यान्सरको उपचार गराईरहेका थिए ।
हेटौंडा–४, गर्दोईका बोसको मंगलबार नै हेटौंडा–९, कुष्माण्ड त्रिवेणीधाममा अन्त्येष्टी गरिएको छ ।
लामो समय हेटौंडा औद्योगिक क्षेत्रस्थित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापकको रुपमा काम गरेका बोसले पछिल्लो समय नारायणी मिल्क इन्डष्ट्रिज सञ्चालन गर्दै आएका थिए ।
ब्याडमिन्टन खेलको विकासमा सदैव अग्रसर रहेका बोसका छोरा अभिषेक र छोरी माधवी दुबै खेलाडी राष्ट्रियस्तरका खेलाडी हुन् ।
उद्योग संघ मकवानपुरको द्वितीय उपाध्यक्षसम्म हुनुभएका बोस मकवानपुर उद्योग वाणिज्य संघको एसोसिएटतर्फका सदस्य समेत रहेका थिए ।
उनले छोरा अभिषेकसँग जोडी भएर अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता लगायतका बिभिन्न ब्याडमिन्टन प्रतियोगिताहरु जितेका थिए ।