पोखरा । विश्वकै कठिन मानिने एक्सट्रिम ट्रायथलन प्रतियोगिता पोखरामा आयोजना हुने भएको छ ।
हिमालयन एक्सट्रिको आयोजनामा नेपालमा पहिलो पटक हुन लागेको ट्रायथलन प्रतियोगिता बैशाख २४ गते (मे ७) मा हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
प्रतियोगितामा सहभागिता जनाउन नर्वे, क्यानडा, स्वीडेन, स्वीट्जरल्याण्ड, स्पेन, चिली लगायत १७ देशका ३५ जना विदेशी खेलाडीहरु पोखरा आइसकेको प्रतियोगिता संयोजक रिकेश योञ्जनले जानकारी दिए ।
प्रतियोगितामा नेपालका सोनी गुरुङ र सन्तोष राईलेपनि सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेले आगामी वर्ष नर्वेमा आयोजना हुने वल्र्ड च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
प्रतियोगिता अन्तर्गत फेवातालमा ३.८ किलोमिटर पौडी, १ सय ८० किलोमिटर साइकल दौड र ४० किलोमिटर दौड हुनेछ ।
पोखराबाट सुरु हुने साइकल दौड बागलुङको कालिका स्थान हुँदै पुनः कास्कीको काँडेमा आएर समापन हुने छ भने ४० किलोमिटरको दौड काँडेबाट सुरु भई मर्दी हिमाल, हाइक्याम्प, भ्युप्वाइन्ट हुँदै ल्वाङमा पुगेर समापन हुने छ ।
पत्रकार सम्मेलनमा बोल्दै खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिताले पोखरालाई विश्वसामु साहसिक खेलकुदका रुपमा चिनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।
प्रतियोगिता हरेक वर्ष आयोजना गर्ने लक्ष्य रहेको र खेल पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने सदस्य सचिव गुरुङले बताए ।