काठमाडौं । वीर गणेशमानसिंह १० के रोड रेसको उपाधि एपीएफका गोपीचन्द्र पार्की र नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेका छन् ।
दरबारमार्गमा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ राजपुरा च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा गोपीले कीर्तिमानसहित निर्धारित दुरी ३१ मिनेट ११.४ सकेन्डमा पूरा गरे ।
आर्मीका दीपक अधिकारी ३१ मिनेट १५.२ सेकेन्डको समय सहित दोस्रो भए । आर्मीकै राजन रोकाया ३१ मिनेट २०.४ सेकेन्डको समय निकाल्दै तेस्रो भए ।
महिलातर्फको उपाधि जित्ने क्रममा राजपुराले कीर्तिमानसहित निर्धारित दूरी ३७ मिनेट १०.५ सेकेन्डमा पूरा गरिन् ।
एपीएफकी पुष्पा भण्डारी ३८ मिनेट ०४.३ सेकेन्डको समय निकाल्दै दोस्रो भईन । एपीएफकै विन्द्रा श्रेष्ठले ४० मिनेट २८.९५ सेकेन्डको समयसहित तेस्रो स्थानमा रहिन् ।
वीर गणेशमानसिंह फाउन्डेसन स्पोर्ट्स कमिटीले आयोजना गरेको प्रतियोगिताको १० के तर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । कीर्तिमान बनाएका गोपी र राजपुराले थप १०/१० हजार प्राप्त गरे ।
पाँच किमीको पुरुषमा आर्मीका मुकेश पाल र महिलामा एपीएफकी फुलमती रानाले उपाधि हात पारे ।
मुकेशले निर्धारित दुरी १४ मिनेट ३३.८८ सेकेन्डमा पूरा गरेका थिए । १४ मिनेट ५९.८६ सेकेन्डमा दुरी पार गरेका सन्तोष विक्रम विष्ट दोस्रो स्थानमा रहे । आर्मीकै सुवाष कार्की १५ मिनेट १४.०२ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे ।
यस्तै फुलमतीले निर्धारित दुरी १७ मिनेट ४२.३१ सेकेन्डमा पूरा गरिन् । आर्मीकी निर्मला केसीले १८ मिनेट १५.३४ सेकेन्डसहित दोस्रो र आर्मीकै पूर्णलक्ष्मी न्यौपानेले १८ मिनेट २३.९४ सेकेन्डको साथ तेस्रो भइन् ।
पाँच किमीतर्फको विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ सात हजार प्राप्त गरे ।