काठमाडौं । चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि बक्सिङ खेलको प्रारम्भिक छनोट सकिएको छ ।
नेपाल बक्सिङ संघले प्रारम्भिक चरणमा महिला र पुरुष दुबैतर्फ ३२ खेलाडी छनोट गरिएको जनाएको छ । छनोटमा परेका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद ( राखेप) सँग छलफल गरेर बन्द प्रशिक्षणमा राखिने संघले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि पुरुष र महिलातर्फ समान १६/१६ जना खेलाडी छनोट भएका हुन् ।
पुरुषको ५२ केजी तौल समूहमा चन्द्र बहादुर थापा, प्रदिप महर्जन, लक्ष्मण राई र प्रेम चौधरी छनोट भए भने ६७ केजीमा सुरज महर्जन, पुरन राई, ईन्द्र बहादुर सुनार र शम्भु राजवंशी छनोट भएका छन् ।
त्यस्तै ६३ केजीमा भुपेन्द्र थापा, लालु आले, निशान दाश र सोनाम सार्की छनोट हुँदा ७५ केजीमा दीपक श्रेष्ठ, शनील शाही, दिपेश लामा र साजन तामाङ बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।
महिलातर्फ ५१ केजी तौल समूहमा मिनु गुरुङ, ललिता महर्जन, सुष्मिता तामाङ र रिता दर्लामी छनोट हुँदा ५७ केजीमा चन्द्रकला थापा, विमला श्रेष्ठ, हेमा राई र निशा तामाङ रहेका छन् ।
६० केजी तौल समूहमा संगीता सुनार, पुनम रावल, देचेन शेर्पा, वर्षा श्रेष्ठ रहेका छनोट भए भने ६९ केजीमा सरस्वती रानामगर, सविना श्रेष्ठ, विनीता थापा मगर र निरु गुरुङ रहेका छन् ।
छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुष ५७ केजी तौल समूहको फाइनलमा बागमतीका सुरज महर्जनले एपीएफका पुरन राईलाई ५-० ले हराएर शीर्ष स्थान हासिल गरे ।
पुरुष ५२ केजीमा पुलिसका चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी लक्ष्मण राईलाई ५-० अंकको आधारमा पराजित गर्दै प्रथम स्थान हासिल गरे ।
६३ केजीमा पुलिसका भुपेन्द्र थापाले एपीएफका सोनाम सार्कीबाट वाकओभर प्राप्त गरे ।
७५ केजीमा आर्मी ए का खेलाडी दिपक श्रेष्ठले नेपाल आर्मी बि का खेलाडी दिपेश लामाबाट वाकओभर पाए ।
महिलातर्फ ५१ केजीमा बागमती प्रदेशका खेलाडी सुस्मिता तामाङले आर्मी ए का खेलाडी मिनु गुरुङबाट वाकओभर पाइन् ।
५७ केजीमा आर्मी बि का बिमला श्रेष्ठले बागमतीका हेमा राईलाई ४-१ अंकको आधारमा हराईन ।
महिलातर्फकै ६० केजीमा एपीएफका संगिता सुनारले आर्मी बिका वर्षा श्रेष्ठलाई एबिडिको आधारमा हराएर शीर्ष स्थान हासिल गरिन् ।
६९ केजीमा एपीएफकी सरस्वती रानाले आर्मी ए का सबिना श्रेष्ठलाई ५-० ले हराईन ।