काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि बक्सिङ खेलको छनोट प्रतियोगिता सुरु भएको छ ।
नेपाल बक्सिङ संघले बुधबारबाट सातदोबाटोमा छनोट प्रतियोगिता सुरु भएको जनाएको छ ।
प्रारम्भिक छनोट अन्तर्गत फ्लाई वैट ५१ केजी तौलको महिलातर्फ त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङले नेपाल बक्सिङ क्लबकी दीवाना शेर्मालाई नकआउटको आधारमा पराजित गरिन । यसै तौल समूहमा आर्मीकै ललिता महर्जनले एपिएफीका निता गोसाईलाई अंकको आधारमा पराजित गरिन ।
फ्लाई वैट तौल समूहमा भएको अर्को खेलमा नेपाल प्रहरीका रिता धरलाले बाग्मती प्रदेशका देनिका राईलाई अंकको आधारमा पराजित गरिन भने सोहि तौल समूहमा बाग्मती प्रदेशका सुस्मा तामाङले बाग्मती प्रदेश ए कै अस्मिता दुवाललाई युनानिमस डिसिजनका आधारमा हराइन ।
त्यसै गरी महिला वैन्टम वैट तौल समूहमा बाग्मती प्रदेशका हेमा राईले बागमती प्रदेश ए कै स्वस्तिकालाई स्पिलट डिसिजनका आधारमा पराजित गरिन ।
पुरुषतर्फ ५२ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी लक्ष्मण राईले आर्मीका खेलाडी जयन्त मैनालीलाई र नेपाल प्रहरीका खेलाडी चन्द्र बहादुर थापाले बागमती प्रदेशका खेलाडी रविन थापाललाई क्रमश ३-२ र ५-० अंकको आधारमा जित हात पारे ।
त्यसैगरी ५७ केजी तौल समूहमा नेपाल आर्मी बिका खेलाडी पुरन सुनुवारलाई नेपाल आर्मी ए का खेलाडी ईन्द्र बहादुर सुनारले वाक ओभरका आधारमा जित हासिल गरे ।
६३ केजी तौल समूहमा गण्डकी प्रदेशका खेलाडी सागर परियारलाई नेपाल आर्मी ए का खेलाडी लालु आले मगरले ५-० अंकको आधारमा र सोहि तौल समूहमा बागमती प्रदेश ए का सुलभ मालिलाई बागमती प्रदेशका निशान दासले ४-१ अंकको आधारमा जित हासिल गरे ।
त्यसैगरी ७५ केजी तौल समूहमा बागमती प्रदेशका खेलाडी बिनिस राईलाई ललितपुरका खेलाडी साजन थिंङ तामाङले ३-२ अंकको आधारमा र लुम्बिनी प्रदेशका खेलाडी बिकास राना मगरलाई बागमती प्रदेशका खेलाडी सनिल शाहीले ५-० अंकको आधारमा जित हात पारे ।
एसियन गेम्स आगामी सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ । एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्नेछ ।