काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
कोषले मंगलबार ६ जना खेलाडीलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
आर्थिक सहयोग पाउनेमा भलिबल खेलाडी रिया कुँवर, आइटीएफ तेक्वान्दोका दिपक गौतम, करातेकी कोपिला विष्ट, ब्याडमिन्टनकी सिमा राजवंशी, करातेका बिष्णु नेपाली र एथलेटिक्सका जित बहादुर केसी छन् ।
घुँडाको चोटको उपचार गराईरहेकी रियालाई ६३ हजार ९२९ रुपैयाँ, सोल्जर चोट बोकेका दिपकलाई ८७ हजार ९१४ रुपैयाँ र घुँडाको चोट बोकेकी कोपिलालाई ७५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको हो ।
यस्तै घुँडाकै चोट बोकेकी सिमालाई ८० हजार रुपैयाँ, पक्षघात भएका बिष्णुलाई १ लाख २५ हजार र हातको चोट बोकेका जित बहादुरलाई १ लाख २५ हजार सहयोग प्रदान गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंक लाल घिसिङले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
उक्त अवसरमा कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलाडी संघका पदाधिकारीलगायतको उपस्थिति रहेको थियो ।