नवराज चौलागाई ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ बाराको अधिवेशन स्थगित भएको छ ।
केन्द्रिय प्रतिनिधि छनोटमा विवाद भएपछि तत्कालका लागि अधिवेशन स्थगित भएको एन्फा बाराका बर्तमान सचिव सियाराम कुमरले बताए ।
अध्यक्ष पदमा लगभग सहमती नजिक पुगेपनि एन्फा महाधिवेशनमा भाग लिने प्रतिनिधिको छनोटमा विवाद भएपछि अधिवेशन स्थगित भएको सचिव कुमरले बताए ।
अध्यक्षमा रामचन्द्र लामाको प्यानल सर्वसम्मत चयन हुने सहमती नजिक पुगेपनि प्रतिनिधि छनोटमा विवाद भएपछि पुनः निर्वाचनमा जाने स्थिती सृजना भएको एन्फा बाराका सदस्य राजकिशोर धामिले बताए ।
अब अध्यक्षमा वर्तमान उपाध्यक्ष रामचन्द्र लामा र कृष्णमणि चौधरीको प्यानलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
जम्मा १२ वटा क्लवहरुको मताधिकार रहेको एन्फा बाराको अधिवेशनमा ८ वटा क्लवहरु रामचन्द्र लामाको पक्षमा रहेका छन ।
शनिबार रुपन्देही, लम्जुङ्ग, बाग्लुङ्ग र महोत्तरीको नेतृत्व सर्वसम्मत चुनिएका छन् । बाँके र कैलालीमा भने निर्वाचनमार्फत नेतृत्व चयन भएका छन् ।
एन्फाको आसन्न निर्वाचनका लागि सदस्य जिल्लामा साधारण सभा भैरहेको छ । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ ।