काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि बी डिभिजनबाट ११ क्लबले मताधिकार लिएका छन् ।
शुक्रबार एन्फा हेडक्वाटरमा भएको निर्वाचनमार्फत ११ क्लबले आसन्न निर्वाचनका लागि मताधिकार प्राप्त गरेका हुन् ।
प्रतिनिधि छनोट निर्वाचनमा बी डिभिजनमा १४ क्लब सहभागी थिए ।
बी डिभिजनबाट श्री भगवती, आरसीटी, मध्यपुर युथ क्लब, टुसाल युथ, नयाँबस्ती, खुमलटार, बाँसबारी, सरस्वती युथ क्लब, श्रीकुमारी, बाईज युनियन, चर्च ब्वाईज चुनिए ।
सामाजिक युथ, झम्सिखेल र वीरगञ्ज क्लबले मताधिकार प्राप्त गर्न सकेनन् ।
निर्वाचनमा खुमलटारले सर्वाधिक मत प्राप्त गर्यो । यस सिजन ए डिभिजनमा बढुवा भएको क्लबले १४ मत प्राप्त गर्यो । श्री भगवतीले १३ मत प्राप्त गर्दा आरसीटी, मध्यपुर, टुसाल, नयाँ बस्ती, सरस्वती, श्रीकुमारी र ब्रिगेड ब्वाईजले समान १० मत प्राप्त गरे ।
बाँसबारीले ७ मत प्राप्त गर्दा चर्च ब्वाईज ६ मत सहित मताधिकार प्राप्त गर्यो । मताधिकार प्राप्त गर्न नसकेको सामाजिकले ४, झम्सिखेलले ५ र विरगञ्जले २ मत प्राप्त गर्यो ।
शुक्रबार एन्फाले बी र सी डिभिजनबाट आसन्न निर्वाचनमा भाग लिने क्लबको प्रतिनिधि छनोट गरेको हो ।
यसअघि भएको सी डिभिजनको निर्वाचनबाट पुल्चोक स्पोर्ट्स क्लब, समाज कल्याण क्लब, खालीबारी युथ, मनोहरा युथ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन र वीरगंज युथ एकेडेमीले मताधिकार पाएका थिए ।
समाज कल्याणले गोलाप्रथाबाट मताधिकार पाएको हो । झापा फुटबल क्लबसँग समान ७ भोट भएपछि गोलाप्रथामा समाज कल्याण भाग्यामानी बन्यो ।
झापासँगै ओसिस क्लब, सानेपा फुटबल क्लब, रानीबन र साँगाले मताधिकार पाएनन् ।
एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुदैछ ।