काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा नेपालले बिहीबार पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै एक खेल अगाबै फाइनलमा स्थान सुरक्षित गर्यो । फाइनल अघिको अन्तिम खेल अघिसम्म फाइनल प्रवेश गर्ने दोस्रो टोलीको भने टुंगो लाग्न सकेको छैन ।
लगातार तीन खेलमा पराजित भएको पपुवा न्युगिनीले आफ्नो अन्तिम खेलमा मलेसियामाथि सानदार जित निकाल्दै फाइनल सम्भावना कायम गर्यो । पहिलो खेलमा जित निकालेको मलेसिया पछिल्लो २ खेलमा पराजित भएपछि फाइनल पुग्न अब अन्तिम खेलमा नेपाललाई पराजित गर्नु बाहेक अन्य विकल्प उसँग छैन ।
नेपाल र मलेसियाले सिरिजको आफ्नो अन्तिम खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२:३० मा सुरु हुनेछ । खेलमा मलेसिया गर या मरको स्थितिमा मैदान उत्रने छ भने नेपाल सिरिजमा अपराजित रहँदै फाइनल पुग्ने दाउमा हुनेछ ।
मलेसियाले आफ्नो पहिलो खेलमा पीएनजीलाई ८ रनले पराजित गर्दै सुखद सुरुवात गरेको थियो । तर थप दुई खेलमा मलेसिया नेपालसँग ६ विकेट र पीएनजीसँग ८ विकेटले पराजित हुँदा तालिकाको पुछारमा झरेको छ ।
मलेसिया र पीएनजीले समान १/१ खेल जितेपनि रनरेटको आधारमा पीएनजी अगाडी छ । तीन खेलमा तीन जित निकालेको नेपाल शीर्ष स्थानमा छ ।
नेपाल र मलेसिया हालसम्म ७ पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आमनेसामने भएका छन् । नेपालले मलेसियालाई ६ पटक पराजित गरेको छ भने १ पटक मलेसियासँग नेपाल पराजित भएको छ ।
घरेलु मैदानमा टी-ट्वान्टी अन्तर्राष्ट्रियको आंकडा नेपालको बलियो छ । नेपालले घरेलु मैदानमा ११ खेल खेल्दा १० खेलमा सहज जित निकालेको छ ।
नेपालले मलेसियाविरुद्ध घरेलु मैदानमा शतप्रतिशत नतिजा निकालेको छ । नेपालले ३ पटक आफ्नो मैदानमा मलेसियाविरुद्ध खेल्दा ३ पटकनै सहज जित हात पारेको छ ।
नेपाल टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरियतामा १३ औं स्थानको राष्ट्र हो भने मलेसिया ३३ औं स्थानमा रहेको छ ।