काठमाडौं । कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित निकालेको हो ।
पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रनको अर्धशतकीय इनिङ खेले । कप्तान श्रेयस आयरले २६ रन जोड्दा साम विलिङ्सले अविजित २४ रन बनाए ।
पन्जाबका राहुल चाहरले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ३७ रन बनाएको थियो ।
पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।
लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । राज बावाले ११ रन बनाउँदा कप्तान मायांक अग्रवाल १ रनमा आउट भए ।
कोलकत्ताका उमेश यादवले ४ विकेट लिए । टिम साउथीले २ विकेट लिए ।
जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ । कोलकत्ता शीर्ष स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा बैंगलोरसँग पराजित भएको थियो ।
पन्जाबको यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।