काठमाडौं । नेपाली युवा फिनिसर आदील अन्सारीले बिहीबार राष्ट्रिय टोलीमा डेब्यु गरे । त्रिकोणात्मक टी-ट्वान्टी सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध आदीलले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए ।
डेब्यु खेलमा आदीलले उत्कृष्ट प्रदर्शन गरे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका उनले ११ बलमा ३१ रन बनाएर आउट भए । आदीलले डेब्यु खेलमा ३ छक्का र १ चौका प्रहार गरे ।
आक्रामक ब्याटिङ गरेका आदीलको ब्याटिङ स्ट्राइक रेट २ सय ८१ दशमलब ८१ रह्यो । टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा १० बल खेलेका खेलाडीको तुलनामा आदीलको स्ट्राइक रेट विश्वको दोस्रो धेरै हो ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यु खेलमा १० बल खेलेका खेलाडीको सर्वाधिक स्ट्राइक रेटमा श्रीलंकाका जेहन मुबारका रहेका छन् । उनले सन् २००७ मा केन्याविरुद्ध १३ बल खेल्दै ५ छक्का र ३ चौका प्रहार गर्दै अविजित ४६ रन बनाउँदा ३ सय ५३ दशमलब ८४ को थियो ।
दोस्रो स्थानमा रहेको पाकिस्तानका साहिद अफ्रिदीको १० बलमा १ छक्का र ५ चौका प्रहार गर्दा २ सय ८० को स्ट्राइक रेटमा २८ रन बनाएको कीर्तिमानलाई आदीलले पछि पारेका हुन् ।
आदीलले पीएनजीविरुद्धको खेलमा १९ औं ओभरमा नोसाइना पोकानाको ओभरमा आदीलले पहिलो चार बलमा बाउन्ड्री हिर्काएका थिए ।
आदीलले पहिलो बलमा चौका प्रहार गरे । क्रमश: उनले पोकानाको बलमा लगातार ३ छक्का प्रहार गरे । ओभरको दोस्रो बलमा मिड अन क्षेत्रमा आदीलले प्रहार गरेको शक्तिशाली प्रहारमा बल दर्शकदीर्घा बाहिरबाट गयो । लगत्तैको तेस्रो बलमा आदीलले 'वाइड आउटसाइड अप स्टम्प'मा रहेको बललाई विश्वस्तरीय सट प्रहार गर्दै कभर क्षेत्रबाट मैदान बाहिर पुर्याइदिए, उक्त बल नोबल समेत रह्यो ।
'फ्री हिट' मा आदीलले लङ अनमा हेलिकप्टर सट प्रहार गर्दै छक्का प्रहार गरे । चौथो बल समेत हावामा खेल्दा आदीलको क्याच छुट्यो र ३ रन बटुल्न सफल भए ।
उक्त ओभरमा नेपालले ३२ रन जोड्यो । नेपालले एकै ओभरमा ३२ रन प्रहार गर्दा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाउने विश्व कीर्तिमानमा ४ कीर्तिमानसँग तेस्रो स्थानमा बराबरी गर्यो ।