काठमाडौं । पाकिस्तानले दोस्रो एकदिवसीयमा पाहुना टोली अष्ट्रेलियालाई हराएको छ ।
लाहोरमा बिहीबार राति पाकिस्तानले अष्ट्रेलियालाई ६ विकेटले हराएको हो ।
यस जितसँगै तीन खेलको सिरिजमा पाकिस्तानले १-१ को बराबरी गरेको छ ।
पहिलो खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८८ रनले हराएको थियो ।
अष्ट्रेलियाले दिएको ३ सय ४९ रनको लक्ष्य पाकिस्तानले ४९ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
पाकिस्तानका कप्तान बाबर आजमले १ सय १४ रनको शतकीय इनिङ खेले । यस्तै इमाम उल हकले १ सय ६ रन शतकीय इनिङ खेले । फखर जमान ६७ रनमा आउट भए ।
अष्ट्रेलियाका एडम जाम्पाले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ४८ रन बनाएको थियो ।
अष्ट्रेलियाका बेन म्याकडेरमोटले १ सय ४ रनको शतकीय इनिङ खेले ।
टार्भिस हेडले ८६ रन जोड्दा मार्नुसले ५९ रन बनाए ।
पाकिस्तानका शाहिन शाह अफ्रिदीले ४ तथा मोहमद वासिमले २ विकेट लिए ।