काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध आफुले टी-ट्वान्टी अन्तराष्ट्रियमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गरेको बताए ।
त्रिवि क्रिकेट मैदानमा बिहीबार नेपालले पीएनजीलाई ३७ रनले हराउँदा करण नायक बनेका थिए । उनी खेलमा प्लेयर अफ द म्याच समेत बने ।
खेलपछि पत्रकारसँग कुरा गर्दै करणले भने, 'मेरो लागि स्पेशल नै हो । ह्याट्रिक र ५ विकेट । टी-ट्वान्टी अन्तराष्ट्रियमा मेरो वेष्ट फिगर नै हो । खुशी पनि लागिरहेको छ ।'
करण टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका थिए । करणले १९ औं ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिदै ह्याट्रिक पूरा गरेका थिए ।
उनले पीएनजीविरुद्ध कुल ५ विकेट हात पारे । करण टी-ट्वान्टी अन्तराष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो नेपाली खेलाडी समेत बने ।
यस्तै करणले यस्तो सफलता अझै प्राप्त गर्न चाहेको बताए ।
'मलाई लाग्छ आगामी दिनमा अझै चार–पाँच पटक यस्तो ट्राइ गर्छु,' करणले थपे ।
करणले पीएनजीविरुद्ध नै टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० विकेटको कोशेढुंगा समेत पूरा गरे ।
उनले हालसम्म ५४ टी-ट्वान्टी अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।