काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि २ सय ४ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय ३ रन बनायो ।
दिपेन्द्र सिंह ऐरी र डेब्यु खेलाडी आदील अन्सारीले आक्रामक इनिङ खेलेपछि नेपालले २ सय रनको स्कोर पार गरेको हो ।
नेपालले अन्तिम ३ ओभरमा ६० रन जोड्यो । दिपेन्द्रले ३३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६६ रनको आक्रामक अर्धशतकीय इनिङ खेले ।
यस्तै आदीलले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै ३१ रन बनाए ।
त्यस्तै रोहित पौडेलले २३ बलमा २ छक्का र ४ चौकाको मद्दतमा ४१ रन जोडे । आसिफ शेखले २९ बलमा ३८ रन बनाउँदा कुशल भुर्तेलले १७ रनको योगदान गरे ।
पीएनजीका काबुअ मोरेअले ३ विकेट लिए । उनले अन्तिम ओभरमा नेपालको ३ विकेट लिएका थिए । यस्तै रिले हेकुरेले २ तथा नोरमान भानुअ र नोसाइना पोकानाले समान १/१ विकेट लिए ।
नेपाल आज पीएनजीलाई हराएर एक खेल अगाबै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराएको थियो । नेपाल उक्त जितलाई कायम गर्न चाहन्छ ।
यस्तै नेपालले दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलमा लगातार जितसहित ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा रहेको छ ।
मलेसिया २ खेलमा २ जित १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पीएनजीविरुद्धको यस खेल नेपालको ५० औं टी-ट्वान्टी अन्तराष्ट्रिय खेल हो ।