काठमाडौं । चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किङ्सले जितेको छ ।
राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङ्सले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्यो ।
राजविराजले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७ ओभर ४ बलमा १ सय ९ रन बनाउँदा सम्पूर्ण विकेट गुमायो ।
लक्ष्य पछ्याउने क्रममा तिलाठीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजविराजका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिर्दोश अन्सारीले २ तथा रुपेश कुमार सिंहले १ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको राजविराजले १९ ओभर १ बलमा १ सय ३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो ।
किङ्सको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए । उनले ४४ बलमा ५ चौका र ८ छक्का प्रहार गरे । रुपेश सिंहले १४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
तिलाठीको बलिङमा अविशेक कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १६ रन खर्चिए । जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए।
उपाधिसहित राजविराज द किङ्सले तिन लाख रुपैयाँ तथा उपविजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रुपैयाँ प्राप्त गर्यो।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनिल धमला घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर राजविराज द किङ्सका सन्तोष कार्की घोषित भए भने बलर राजविराज द किङ्सका रुपेश कुमार सिंह घोषित भए । उत्कृष्ट बलर र ब्याटरले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए जसले १५ हजार रुपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरे।