काठमाडौं । वेस्ट इन्डिजविरुद्धको टेस्ट शृंखलामा इंग्ल्यान्ड पराजित भएपछि अहिले सबैले एक जनाको चर्को विरोध गरिरहेका छन् र उनी हुन्, कप्तान जोए रुट ।
इंग्ल्यान्डकै पूर्व कप्तान माइकल भन भन्छन्, ‘रुटले जति सक्दो गर्न सक्थे, गरिसके । अब उनले कप्तानी छाडेकै राम्रो ।’ स्वंय रुट भने अझै कप्तानी कायम रहनेमा जिद्दी गरिरहेका छन् ।
तर उनको जिद्दीले मात्र के हुने हो र ? अन्तिम निर्णय छनोटकर्ताकै हो र हुन सक्छ, यी छनोटकर्ताले अब रुटको पक्षमा निर्णय गर्ने छैनन् ।
रुटले अहिलेसम्म ६४ टेस्टमा इंग्ल्यान्डको नेतृत्व सम्हालेका छन् । त्यसमधये २७ टेस्टमा इंग्ल्यान्ड विजयी रहेको छ । यो कोही पनि इंग्लिस कप्तानले जितेको सबैभन्दा बढी टेस्ट हो ।
तर, उनको नेतृत्वमा इंग्ल्यान्ड २६ टेस्टमा पराजित भएको छ । अहिलेसम्म कोही पनि इंग्लिस कप्तानले यति धेरै टेस्टमा हार सामना गर्नु परेको छैन् ।
विशेषत: पछिल्लो समय इंग्ल्यान्डको प्रदर्शन निकै खराव रहेको छ, टेस्ट क्रिकेटमा । त्यसैले पनि रुटलाई हटाउनु पर्छ भन्नेको आवाज बढी सुनिन थालेको छ ।
तर यहाँनिर अर्को समस्या पनि छ, रुटलाई हटाउने हो भने अर्को कप्तान हुने को त ? अहिले तत्काल इंग्लिस टेस्ट टिम सम्हाल्ने सक्ने कोही देखापरिरहेको छैन् । सायद बेन स्टोक्स सबैभन्दा राम्रा प्रत्यासी हुन सक्छन्, तर उनी आफै भन्छन्, ‘मलाई कप्तान हुने कुनै रहर छैन् ।’
त्यसैले मूल प्रश्न यो भएको छ, रुटलाई त हटाउँला, तर उनको विकल्प को त ?
–बीबीसीको सहयोगमा ।