काठमाडौं । सप्तरीमा जारी चौंथो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगमा खडक वारियर्स र राजविराज द किंग विजयी भएका छन् ।
आइतबार भएको पहिलो खेलमा खडक वारियर्सले किंग्स राजविराजलाई १४ रनले पराजित गर्यो । १ सय ५४ रनको लक्ष्य पछ्याएको किंग्सले २० ओभर ब्याटिङ गर्दै ७ विकेट क्षतीमा १ सय ३९ रन मात्र बनायो ।
राजविराजका ओपनर शेख इमरानले ४७, महबुब आलमले ३७, सुरज कुर्मीले २३ रन बनाए पनि जित निकाल्न सकेनन् । प्लेयर अफ द म्याच समेत चुनिएका खडक वारियर्सका बलर सर्वन यादवले ३ तथा गोमानंद अमात्य र अरनिको यादवले २/२ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको खडक वारियर्सले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ५३ रन बनायो । वारियर्सका मुकुन्द यादवले सर्वाधिक ३३ रन, सर्वन यादवले २४ रन, अविनाश कर्णले २२ रन तथा राहुल मण्डल र रोबिन सिंहले समान १९ रन योगदान दिए । किंग्स राजविराजका बलर पप्पु यादवले सर्वाधिक ३ विकेट, बिशाल सुश्लिंगले २ विकेट तथा भुलावन सहानी, पप्पु यादव र महबुब आलमले १/१ विकेट लिए ।
दिनको दोश्रो खेलमा राजविराज द किंगले राजविराज ब्रदर्शलाई ३० रनले पराजित गर्यो । द किंगले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको ब्रदर्शले १८ ओभर २ बलमा १ सय २१ रन मात्र बनायो । ब्रदर्शको ब्याटिङमा निरज कुमार यादवले सर्वाधिक २७, प्रशन्त सिंहले २४ , विकास दास र अमित यादवले १६/१६ तथा अनुज चुनाराले १५ रन बनाए । द किंगका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, फिर्दोश अन्सारीले २ विकेट तथा रोहित कुमार सिंह र अनिल यादवले १/१ विकेट लिए ।
टस जितेर ब्याटिङ गरेको राजविराज द किंगले २० ओभरमा ८ विकेटको क्षेतीमा १ सय ५१ रन बनायो । उसको लागि फिर्दोश अन्सारीले सर्वाधिक ४०, रुपेश कुमार सिंहले ३०, सन्तोष कार्कीले २९ तथा चित्र बहादुर बिस्टले १५ रन योगदान दिए । राजविराज ब्रदर्शका बलर अनुज चुनारा, दिपेश कंडेल र अजय यादवले २/२ विकेट तथा पार्थिव यादवले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच फिर्दोश अन्सारी घोषित भए ।
जितपछि राजविराज द किंग ३ खेलमा २ जित र १ हार बेहोर्दै ४ अंकको साथ अंक तालिकाको शिर्ष स्थानमा छ। समान नतिजा पछि नेट रन रेटमा पछि पर्दै किंग राजविराज र खडक वारियर्स दोश्रो र तेश्रो स्थानमा छ । तिन वटै खेलमा हार पछि राजविराज ब्रदर्शको फाइनल पुग्ने सम्भावना समाप्त भएको छ।