काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्युगिनी (पीएनजी) सम्मिलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज सोमबारबाट सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसिया र पीएनजीलाई आतिथ्यता गर्नेछ ।
डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको पहिलो खेलमा घरेलु टोली नेपालले पीएनजीसँग खेल्दैछ । खेल १२ : ३० मा सुरु हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी-ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा रहने छ । पीएनजीले गत संस्करणको टी-ट्वान्टी विश्वकपमा सहभागिता जनाएर आएको राष्ट्र हो ।
यसअघि नेपाल र पीएनजी एक पटक टी-ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो । ७ वर्षअघि भएको खेलमा नेपाल लजास्पद हार व्यहोर्न पुगेको थियो । डब्लिनमा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो ।
उक्त खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दा ९३ रनमा अलआउट भएको थियो । नेपालले हालसम्म टी-ट्वान्टी अन्तर्राष्ट्रियमा बनाएको यो पाँचौं सर्वाधिक कम स्कोर हो ।
नेपालले ४७ रन बनाउँदा मात्र १ विकेट गुमाएको अवस्थाबाट थप ४६ रन जोड्ने क्रममा अलआउट हुन पुगेको थियो । नेपालका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सफल भएका थिए । प्रदिप ऐरीले २९ रन, सागर पुनले १५ रन बनाउँदा पारस खड्काले ११ रनमा आउट भएका थिए ।
सात वर्षअघि खेलिएको खेलका २ खेलाडी मात्र अहिले पीएनजीविरुद्धको खेलका लागि उपलब्ध हुने छन् । उक्त खेलमा प्लेइङ-११ मा रहेका २ खेलाडीले सन्यास लिएका छन् भने सोमपाल कामी र करण केसी मात्र सोमबार पीएनजीविरुद्धको लागि राष्ट्रिय टिममा हुने छन् । पीएनजीको टिममा भने उक्त खेलका ५ खेलाडी सामेल छन् ।
नेपाल र पीएनजी दुवैले एक एक पटक टी-ट्वान्टी विश्वकप खेलेका छन् । नेपालले सन् २०१४ मा टी-ट्वान्टी विश्वकप खेल्दा पीएनजीले भने गत संस्करणको विश्वकपमा सहभागिता जनाएको थियो ।
सन् २०१४ को विश्वकपमा नेपालले ३ खेलमा २ खेल जित्दै सनसनी मच्चाउँदा पीएनजीले सन् २०२१ को विश्वकपमा ३ खेलमा ३ हार व्यहोर्यो । आगामी टी-ट्वान्टी विश्वकपको लागि समेत पीएनजीले ग्लोबल छनोट खेल्दैछ । नेपाल भने आउने विश्वकपको लागी छनोट चरणको अन्तिम खेलमा पराजित हुँदै बाहिरिएको थियो ।
पीएनजीले पछिल्लो ६ टी-ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा घरेलु मैदानमा नेपालको रेकर्ड राम्रो छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ खेल खेल्दा ७ खेलमा नतिजा आफ्नो पक्षमा पारेको छ ।