काठमाडौं । आईसीसी महिला विश्वकपमा भारत लिग चरणबाट बाहिरिएको छ । आईतबार दक्षिण अफ्रिकासँग पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको हो ।
भारतलाई पराजित गरेको दक्षिण अफ्रिका लिगको दोस्रो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।
क्रिस्टचर्चमा भएको रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३ विकेटले पराजित गर्यो ।
२ सय ७५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले खेलको अन्तिम बलमा ७ विकेट गुमाएर २ सय ७५ रन बनायो । दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डले सर्वाधिक ८० रनको इन्निङ खेलिन् । उनले ७९ बलमा ११ चौका प्रहार गरिन् ।
लारा गोडाल ४९ रनमा आउट हुँदा मिग्नोन डु प्रेजले ५२ रनको अविजित इनिङ खेल्दै दक्षिण अफ्रिकालाई जित दिलाईन् । उनले ६३ बलमा २ चौका प्रहर गर्दै महत्वपूर्ण इनिङ खेलिन् ।
भारतकी राजेश्वरी गाएक्वड र हर्मनप्रित कौरले समान २/२ विकेट लिइन् ।
यसअघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभारमा ७ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो । स्मृति मान्दनाले ७१, शेफली बर्माले ५३ तथा कप्तान मिथाली राजले ६८ रनको अर्धशतकीय इनिङ खेले । हर्मनप्रित कौर ४८ रनमा आउट भइन् । भारतका अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
दक्षिण अफ्रिकाकी शबनिम इस्माइल र मसाबता क्लासले समान २/२ विकेट हात पारिन् ।
यससँगै महिला विश्वकपमा लिग चरणका खेलहरु सकिएका छन् । अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र वेष्ट इण्डिज सेमिफाइनल प्रवेश गरेका छन् ।