काठमाडौं । पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा चोट बोकेपछि नेपालका फास्ट बलर गुलसन झाले खेल दौरान मैदानबाट बाहिरिए ।
खेलको दोस्रो इनिङको १३ औं ओभरमा गुलसनले फिल्डिङ गर्ने क्रममा चोट बोकेका थिए । पीएनजीका सेसे बाउले सन्दीप लामिछानेको बलिङमा पोइण्ट क्षेत्रमा प्रहार गरेको सट रोक्ने प्रयासमा गुलसनले चोट बोकेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका फिजियोको अनुसार गुलसनको बाँया खुट्टाको मासु फर्किएको र चिन्ता गर्नु पर्ने विषय नरहेको बताए ।
'गुलसनको फिल्डिङ गर्ने क्रममा मसल क्र्याम्प भएको हो । त्यसलाई हामी मासु फर्किएको भन्छौं ।' राष्ट्रिय टिमका फिजिज्यो बिक्रम न्यौपानेले खेलपाटीसँग भने, 'दौडिने क्रममा उसको औंलामा बढी प्रेसर भएर र घुम्ने क्रममा पिडुलाको मासु फर्किएको हो । फर्किएको पिडुलाको मासु ठाउँमा रख्दिएको छु, अझै एक दुई दिन दुख्ने हुन्छ अनि बिस्तारै खेल्दै गएपछि ठिक हुन्छ । खुट्टाको मासु फर्किनु सामान्य हो । यस्तो खेलाडीमा मात्र नभएर सामान्य मान्छेलाई समेत हुने गर्छ र फर्किएको मासु यथास्थानमा राखेपछि निको हुन्छ ।'
'यो सामान्य चोट हो, यो चोट भन्दा नि मासु फर्किएको हो, खेलाडीहरुलाई यो भइरहने हुन्छ । यस्तो मासु फर्किंदा घुँडाको भित्र अलिकति दुखाइ हुन्छ, पछि ठिक हुन्छ,' फिजियो न्यौपानेले थपे, 'गुलसनलाई मैदान फर्कन धेरैमा हप्ता दिन लाग्ला । यस्तो समस्याको सामाधान आराम हो । एकदुई दिन आराम गरे, बरफले सेके भैहाल्छ ।'
शनिबार यस्तो समस्या गुलसनलाई मात्र नभएर पीएनजीका ब्याटरलाई समेत देखिएको थियो । ब्याटिङ गर्ने क्रममा मासु फर्किएपछि एकछिन समस्यामा देखिएका ब्यटर एकैछिनमा ब्याटिङमा फर्किएका थिए ।
'यो सामान्य हो, कोहि एक्कै छिनमा खेल्न सक्ने हुन्छन् । आजकै खेलमा पीएनजीका एक ब्याटरमा समेत यस्तै भएको थियो र उसले तत्कालै खेल्न सक्ने भयो । मान्छेको उचाई, वजन, ज्यान अनुसार समेत फरक पर्ने र गुलसन बलर भएको हुनाले जोखिम नालिगेको हो,' उनले थपे ।
चोट बोक्नु अघि खेलमा गुलसनले १ ओभर बलिङ गर्दै ४ चौका खाएर र ३ वाईड बल गर्दा २० रन खर्चिएका थिए ।