पोखरा । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दोस्रो चरणको प्रतियोगिता अन्तर्गत १० किलोमिटर दौडको उपाधि पुरुषतर्फ अजितकुमार यादव र महिलातर्फ सरस्वती बोहोराले जितेका छन् ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा भएको पुरुषतर्फको दौडमा निर्धारित दूरी ३० मिनेट ४५ सेकेन्डमा पूरा गर्दै यादवले २० हजार नगद तथा मेडल र साथमा प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै ३२ मिनेट ५० सेकेन्डमा निर्धारित दूरी पार गर्दै युवराज थापा दोस्रो र ३३ मिनेट ५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै टंकबहादुर कार्की तेस्रो भए । उनिहरुले क्रमशः नगद १५ र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
महिलातर्फको उपाधि जितेकी सरस्वती बोहराले निर्धारित दूरी ३९ मिनेट ३५ सेकन्डमा पारगर्दै नगद २० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै ४० मिनेट १० सेकेन्डमा निर्धारित दूरी पार गर्दै आशा राउत दोस्रो र ४३ मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै गोमा पुन तेस्रो भए । उनिहरुले क्रमशः नगद १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
५ किलोमिटर अन्तर्गत विद्यालयस्तरीय छात्रतर्फ आनन्द थापा प्रथम, कृष्णबहादुर परियार दोस्रो र सुरज बराम तेस्रो भए । छात्रातर्फ नम्रता गुरुङ प्रथम, नारायणी भण्डारी दोस्रो र सन्ध्या अधिकारी तेस्रो भए । छात्र÷छात्रा दुवैतर्फका विजेताले क्रमशः नगद १०, ७ र ५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
ह्विलचियर अन्तर्गत पुरुषतर्फ सुरज गौली प्रथम, जीवन श्रेष्ठ दोस्रो र भरत अधिकारी तेस्रो भए भने महिलातर्फ अञ्जु बराल प्रथम, घना मगर दोस्रो र लक्ष्मी सुनार तेस्रो भए । दुवैतर्फका विजेताहरुले क्रमशः १०, ७ र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
दृष्टिविहिन पुरुषतर्फ प्रेम क्षेत्री प्रथम, आदेश बस्याल दोस्रो र सुनिल रानामगर तेस्रो भए । महिलातर्फ विनिता पुन प्रथम, माया गौतम दोस्रो र प्रतिक्षा लामिछाने तेस्रो भए । उनिहरुले क्रमशः १०, ७ र ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ १० किलोमिटरमा २ सय जना, महिलातर्फ १ सय जना तथा ५ किलोमिटर विद्यालयस्तरीय छात्रतर्फ ३ सय र छात्रातर्फ २ सय गरी ८ सय जना धावकहरुलाई मेडल वितरण गरिएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले बताए ।
पोखरा रंगशालाबाट सुरु भएको दौड पोखराका विभिन्न भाग परिक्रमा गरी लेकसाइडस्थित बाराही घाटमा पुगेर समापन भएको थियो ।