काठमाडौं । दिपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । सनिबार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ऐरीले आफ्नो पहिलो शतक प्रहार गरेका हुन् ।
ऐरीले १ सय ३६ बलमा ६ चौका प्रहार गर्दै शतक पुरा गरे । एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालका पारस खड्का र रोहित पौडेलले शतक प्रहार गरेका थिए ।
पारसले सन् २०१९ मा यूएईविरुद्ध शतक प्रहर गर्ने पहिलो नेपाली खेलाडी बनेका थिए । रोहितले शुक्रबार पीएनजीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेल्दै सर्वाधिक रनको कीर्तिमान बनाएका थिए ।
खेलमा खराब सुरुवात गरेको नेपालका लागि दिपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए । दोस्रो खेल खेल्दै गरेका देवले ७२ रन बनाएर आउट भए ।