पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार आयोजना हुने दोस्रो चरणको पोखरा म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ ।
प्रतियोगिताका लागि ४ हजार धावकहरुले नाम दर्ता गराएका छन् । १० किलोमिटर दौड अन्तर्गत पुरुषतर्फ १ हजार १ सय ३० तथा महिलातर्फ ५१ जना खेलाडीहरुले नाम दर्ता गराएका छन् । त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर दौड अन्तर्गत छात्रतर्फ ५ सय ५६ र छात्रातर्फ ४ सय २१ जना खेलाडीहरुले नाम दर्ता गराएको मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
त्यस्तै ह्विलचियर अन्तर्गत पुरुषतर्फ ८ र महिलातर्फ ६ जनाले नाम दर्ता गराएका छन् । दृष्टिविहिन अन्तर्गत पुरुषतर्फ २० र महिलातर्फ १४ जनाले नाम दर्ता गराएका छन् भने रन फर फन अन्तर्गत १ हजारले नाम दर्ता गराइसकेको महासचिव तिमिल्सिनाले बताए ।
पोखरा रंगशालामा चैत १२ गते आयोजना हुने १६ औैं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता अन्तर्गत १० किलोमिटर महिला तथा पुरुष खुला दौड, विद्यालयस्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्र÷छात्रा दौड, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौड र सबैका लागि रन फर फन पोखरा रंगशालामा आयोजना हुने छ ।
१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौडतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् । त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर छात्र÷छात्रा अन्तर्गत विजेताले क्रमशः १२, १० र ७ हजार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहिन अन्तर्गत विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसअघि फागुन ७ गते आयोजना भएको पहिलो चरणको म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गेईले जितेका थिए भने महिला तर्फकोे हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी थिइन् ।