पोखरा । दोस्रो चरणको पोखरा म्याराथनको तयारी तिव्र पारिएको छ ।
नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा चैत १२ गते शनिबार आयोजना हुने १६ औैं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको दोस्रो चरणको तयारी तिव्र परिएको मञ्चका महासचिव कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
मञ्चले सोमबार पोखरा महानगरपालिका–५ अन्तर्गत वडा तथा टोलविकास संस्थाका पदाधिकारीहरुसंग छलफल गरेको छ ।
१० किलोमिटर महिला तथा पुरुष खुला दौड, विद्यालयस्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्र÷छात्रा दौड, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौड र सबैका लागि रन फर फन पोखरा रंगशालामा आयोजना हुने छ ।
१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौडतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।
त्यस्तै विद्यालय स्तरीय ५ किलोमिटर छात्र÷छात्रा अन्तर्गत विजेताले क्रमशः १२, १० र ७ हजार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहिन अन्तर्गत विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
गण्डकी प्रदेश मध्येका उत्कृष्ट ६ जना खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा पदक, प्रमाण–पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको मञ्चका पूर्व अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।
म्याराथन प्रतियोगिता एकै चरणमा आयोजना हुँदै आएकोमा कोरानाका कारण गत वर्ष र यसबर्ष भने दुइ चरणमा आयोजना गरिएको हो ।
यसअघि फागुन ७ गते आयोजना भएको म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गेईले जितेका थिए भने महिला तर्फकोे हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी थिइन् ।