काठमाडौं । धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन्।
उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको प्रतियोगितको ८ सय मिटर दौडको पुरुषमा चितवनका अमृत बोट तथा महिलामा दोलखाकी अन्जु खड्का पहिलो भए ।
४ गुणा १ सय मिटर रिलेको पुरुषमा चितवन तथा महिलामा भक्तपुरले स्वर्ण जिते । लङजम्पको पुरुषमा चितवनका सुजितकुमार महतो तथा महिलामा ललितपुरकी लुजला अमात्यले शीर्ष स्थान हात पारे । ज्याभ्लिन थ्रोको पुरुषमा सिन्धुपाल्चोकका मिङमार शेर्पा तथा महिलामा रामेछापकी कृतना खड्का पहिलो भए ।
पुरुष टी– २० क्रिकेटमा मकवानपुरले धादिङलाई ३२ रनले पराजित गर्दै उपाधि जित्यो ।