काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार उनले ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । उक्त स्पर्धाको महिलामा सिन्धुपाल्चोककी नितु तामाङ ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् ।
पुरुष १ हजार ५ समय मिटर दौडमा ४ मिनेट २१.२ सेकेन्ड समय निकाल्दै ललितपुरका विकेश घिमिरेले स्वर्ण हात पारे । सोही स्पर्धाको महिलामा रामेछापकी निर्मली माझी पहिलो भइन् । निर्मलीले ५ मिनेट ५५.७ सेकेन्ड समय खर्चिन् ।
सटपुटको पुरुषमा चितवनका ललित राउत तथा महिलामा सिन्धुलीकी प्रमिला माझीले शीर्ष स्थान हात पारे । ललितले १०.५६ मिटर तथा प्रमिलाले ८.१० मिटर फाले । पुरुष १ सय मिटर दौडमा मकवानपुरका गौरव मोक्तानले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ११.५८ सेकेन्ड समय लगाए । त्यसै स्पर्धाको महिलामा १३.१४ सेकेन्ड समय खर्चेकी ललितपुरकी लुजला अमात्य पहिलो भइन् ।
हाइजम्पको पुरुषमा सिन्धुलीका रोशनकुमार दनुवार तथा महिलामा चितवनकी मिना कुमालले बाजी मारे । रोशनले १.७२ मिटर तथा मिनाले १.३० मिटर उचाईं नाघे ।
पुरुष ४ सय मिटर दौडमा चितवनका अमृत बोट पहिलो भए । उनले ५३.२८ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको महिलामा ललितपुरकी रोजिना दुलाल पहिलो बनिन् । रोजिनाले १ मिनेट ०६.६६ सेकेन्डमा दौड पूरा गरिन् ।
मकवानपुरले पुरुष फुटबल उपाधि जितेको छ ।
हेटौंडाको पिप्लेस्थित क्याम्पडाँडा रंगशालामा भएको फाइनलमा मकवानपुरले ललितपुरलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्यो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए । मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी, ५८ केजीमुनि काभ्रेका सरोज मगर, ६३ केजीमुनि नुवाकोटका प्रवीन वाइबा, ७४ केजीमुनि काठमाडौंका विप्लव नेगी लामा, ८७ केजीमुनि चितवनका अमन थापा मगर र ८७ केजीमाथि चितवनका सौरव सिंहले स्वर्ण जिते ।
महिलाको ४६ केजीमुनि चितवनकी आयुष्मा चौधरी, ४९ केजीमुनि चितवनकी स्नेहा परियार, ५३ केजीमुनि सिन्धुपाल्चेककी अन्जली तामाङ, ६७ केजीमुनि नुवाकोटकी प्रिजना राई, ७२ केजीमुनि नुवाकोटकी पवित्रा राई र ७२ केजीमाथि चितवनकी नमिता गौलीले शीर्ष स्थान कब्जा गरे ।
पुम्सेको एकलतर्फ पुरुषमा मकवानपुरका राम गोले र महिलामा रामेछापकी सन्ध्या लामा पहिलो भए । पेयरमा मकवानपुरका लक्ष्मण गोले र कविता राईले स्वर्ण जिते ।
पुरुष टिममा चितवनका आशिष सुवेदी, अब्बास अन्सारी र सौरव अधिकारी पहिलो बने । सोही स्पर्धाको महिलामा काठमाडौंका स्मृति नेपाली, रंगिला रोका र दीक्षा राईको टोलीले स्वर्ण चुमे ।