पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १६ औैं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गतको दोस्रो चरणको दौड चैत १२ गते आयोजना हुने भएको छ ।
१० किलोमिटर महिला तथा पुरुष खुला दौड, विद्यालयस्तरीय कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुका लागि ५ किलोमिटर छात्र र छात्रा दौड, महिला तथा पुरुष ह्विल चियर र दृष्टिविहिन दौड र सबैका लागि रन फर फन चैत १२ गते शनिबार पोखरा रंगशालामा आयोजना हुने मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिए ।
१० किलोमिटर महिला तथा पुरुष खुल्ला दौडतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार प्राप्त गर्नेछन् ।
विद्यालय स्तरीय ५ किलोमिटर छात्र र छात्रा अन्तर्गत विजेताले क्रमशः १२, १० र ७ हजार प्राप्त गर्नेछन् ।
महिला तथा पुरुष ह्विलचियर र दृष्टिविहिन अन्तर्गत विजेताले क्रमशः १०, ७ र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
धावकहरुले चैत ८ गते सम्म नाम दर्ता गर्न सक्ने मञ्चले जनाएको छ ।
गण्डकी प्रदेश मध्येका उत्कृष्ट ६ जना खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद् गण्डकीद्वारा पदक, प्रमाण–पत्र र नगद पुरस्कारको व्यवस्था गरिएको मञ्चका पूर्व अध्यक्ष एवं प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए ।
म्याराथन एक चरणमा आयोजना हुँदै आएकोमा कोरानाका कारण गत वर्ष र यसबर्ष भने दुई चरणमा आयोजना गरिएको हो ।
यसअघि फागुन ७ गते आयोजना भएको पोखरा म्याराथनको उपाधि केन्याली धावक स्टेफेन कोस्गेईले जितेका थिए भने महिला तर्फकोे हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितेकी थिइन् ।
प्रतियोतिलाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्यिगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटि, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके, पोखरा महानगरपालिका लगायतका विभिन्न संघ संस्थाहरुले सहयोग गर्दै आइरहेका छन् ।