काठमाडौं । बागतमी प्रदेशले आयोजना गर्न लागेको पहिलो संस्करणको प्रदेश खेलकुद प्रतियोगितामा ८ खेल समावेश हुने भएका छन् । प्रदेश खेलकुद विकास परिषद्ले हेटौडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले प्राथमिकतामा राखेका ८ खेललाई समावेश गर्दै प्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गरिने जानकारी दिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्का अनुसार प्रदेश खेलकुदमा फुटबल, ब्याडमिन्टन, क्रिकेट, तेक्वान्दो, भलिबल, कराते, एथलेटिक्स, बक्सिङ खेलको आयोजना गरिनेछ । बागमती प्रदेश स्तरीय खेलुकद प्रतियोगिता फागुन २८ गते सुरु भएर चैत १२ गते समापन हुनेछ ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले हेटौडाको क्याम्पा चौरमा प्रतियोगिताको उद्घाटन गरिने र काभ्रेपलान्चोकको धुलिखेलमा प्रतियोगिताको समापन गरिने जानकारी दिए । प्रतियोगिताको उद्घाटन प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्नेछन् भने समापन प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले गर्ने कार्यक्रम तय भएको छ ।
भण्डारीका अनसार प्रदेशलाई खेलकुदको हबको रुपमा विकास गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
उनले देशमै पहिलो पटक प्रदेश खेलकुद प्रतियोगिता आयोजना गरेर प्रदेश सरकारले इतिहास रच्न लागेको उल्लेख गरे । संघीय संरचना अनुसार प्रदेश खेलकुद प्रतियोगिता आयोजना गर्ने बागमती पहिलो प्रदेश समेत बन्ने भएको छ ।
स्थानीय तह हुँदै जिल्ला तहमा छनोट भएर प्रदेश खेलकुदमा सहभागी हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रदेश सरकारले प्रतियोगिताका विजेतालाई नगद सहित सिल्ड, प्रमाणपत्रको समेत व्यवस्था गरेको छ ।
बागमतीले प्रदेश सरकारले प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीका लागि ३० लाख रुपैयाँ बराबरको बिमा समेत गरेको जानकारी दिएको छ ।