काठमाडौं। कौतिल्यले छैटौं अर्किड कप अन्तरविद्यालय सेभेन ए साइड छात्र नकआउट फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा भएको खेलमा कौतिल्यले लाइसियमलाई टाइब्रेकरमा ३–२ गोलले पराजित गर्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । लाइसियमका सक्सेस सेढाईं ‘म्यान अफ द म्याच’ घोषित भए ।
अन्य खेलमा गणेश हिमाल, अक्षरिका, मनकामना र ब्रेस्ट ग्रुप भिजनले जित हात पारे । गणेश हिमालले गुडडे एकेडेमीलाई ६–० गोलले हरायो । गणेशका विप्लव नेपालले ह्याट्रिक गरे भने मनीष थापा र बैकप कार्कीले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो । अक्षरिकाले विद्या अर्जनलाई ३–१ गोलले पाखा लगायो । अक्षरिकाका सुखद लामाले २ तथा आयुश कार्कीले १ गोल गरे । मनकामनाले पुष्प वाटिकामाथि ५–० को सहज जित रच्यो । मनकामनाका सुमन सुनुवार र अशोक तामाङले २–२ तथा कृष्ण मोक्तानले १ गोल गरे ।
बेस्टले बोधीसदनलाई २–० ले पन्छायो । दुवै गोल मनीष गिरीले गरे । रेडिअन्टले प्रीतिमाबाट वाकओभर पायो । प्रतियोगितामा ३२ टिम सहभागी छन् । विजेताले २० हजार, उपविजेताले १५ हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल फागुन २० गते हुने छ ।