पोखरा । केन्याली धावक स्टेफेन कोस्गेईले १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् ।
पोखरा रंगशालामा शनिबार निर्धारित दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पूरा गर्दै स्टेफेनले उपाधि जितेका हुन् ।
उपाधिसँगै स्टेफेनले ४ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
केन्याकै सिमिओन किप्लागेटले दोस्रो स्थान हासिल गरे । उनले २ घण्टा २१ मिनेट ०३ सेकेण्डको समय निकाले । उनले २ लाख प्राप्त गरे ।
नेपाल आर्मी क्लबका मोहन देव जोशीले तेस्रो स्थान हासिल गर्दै १ लाख जिते । उनले २ घण्टा ३३ मिनेट २४ सेकेण्डको समय निकाले ।
महिला हाफ म्याराथनको उपाधि नेपाल पुलिस क्लबकी राजपुरा पछाईले जितिन् ।
उपाधि जित्ने क्रममा राजपुराले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पूरा गरिन् ।
राजपुराले लगातार दोस्रो पटक उपाधि जितेकी हुन् । उपाधिसँगै उनीले नगद १ लाख प्राप्त गरिन् ।
एपीएफकी बिन्द्रा श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् ।
जुम्लाकी राममाया बुढाले १ घण्टा ३० मिनेट ४८ सेकेण्डको समयसहित तेस्रो स्थान हासिल गरिन् ।
दोस्रो भएकी बिन्द्राले ७५ हजार र तेस्रो भएकी राममायाले ५० हजार प्राप्त गरेकी छिन् ।
भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको म्याराथनमा स्वदेशी तथा विदेशी गरि कुल २०१ जना धावकहरुले सहभागिता जनाएका थिए ।