काठमाडौं । सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको केटीएम रनमा ६ सय बढीले नाम दर्ता गरेका छन् ।
आयोजक शेर्पा आउटडोरले फागुन १४ गते काठमाडौंमा हुने केटीएम रन टेन केमा ६ सय बढी सहभागीले नाम दर्ता गरेको जनाएको छ ।
शेर्पा आउटडोरको केटीएम सिटीले सर्वाधिक पुरस्कार राशीको केटीएम रनको आयोजना गरेको हो ।
प्रतियोगितामा सहभागी हुने चाहने इच्छुक खेलाडी तथा सर्वसाधारणले फागुन १२ गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन् ।
हरेक अंग्रेजी नयाँ वर्षको जनवरी अन्तिम साता सुरु गर्ने लक्ष्य सहित सुरु गरिएको प्रतियोगिता कोभिडका कारण फागुन १४ मा आईपुगेको हो ।
महिला र पुरुष गरि दुई स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्ने छन् । दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौं हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहित आवश्यक सामाग्री उपलब्ध गराउने बताईएको छ ।