काठमाडौं । कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र जितबहादुर केसीले सर्वाधिक पुरस्कार राशी भएको पहिलो संस्करणको केटीएम रन टेन के प्रतियोगिता दौडने भएका छन् ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले मंगलबार एक विज्ञप्ति निकाल्दै मानन्धर र केसीले प्रतियोगितामा दौडने जनाएको छ ।
एथ्लेटिक्स खेलको विकास र प्रवर्दनका लागि आयोजना हुन लागेको कारण प्रतियोगितामा आफुहरु दौडमा सहभागिता हुने मानन्धर र केसीले जनाएका छन् ।
प्रतियोगिता फागुन १४ गते शनिबार आयोजना हुनेछ । केटीएम रन १० किलो मिटरको हुनेछ ।
केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ ।
केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो।
यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ ।
केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।
केटीएम रनको रेस डिरेक्टरमा शुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहेका छन् ।
