काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज मंगलबार ओमान प्रस्थान गर्दैछन् ।
विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपाली टोली मंगलबार राति ६:३० बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
१७ खेलाडीसहित कुल २२ सदस्सीय नेपाली टोली ओमान जाने छन् ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
ओमान जाने नेपाली टोली :
खेलाडी - सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल,दिपेन्द्र सिंह ऐरी,शरद भेषवाकर,करण केसी,आरिफ शेख, कुशल मल्ल,आसिफ शेख,कमल सिंह ऐरी,शाहब आलम,अविनाश बोहरा,प्रदिप ऐरी,जितेन्द्र कुमार मुखिया,विवेक यादव,लोकेश बम, सागर ढकाल
अफिसियल -
सुमन राज कार्की - टिम म्यानेजर
पुबुदु दसानायके - मुख्य प्रशिक्षक
धम्मिका प्रसाद - बलिङ कन्सल्टेन्ट प्रशिक्षक
रमण सिवाकोटी - टेक्निकल एनालिस्ट
बिक्रम न्यौपाने - फिजियो