काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणका लागि नेपाली क्रिकेट टिममा सागर ढकाललाई समावेश गरेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले स्पिनर सागर ढकाललाई टिममा समेटेको र १७ खेलाडी ओमान जाने पुष्टि गरे ।
२० वर्षीय ढकालले हालै सम्पन्न प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबका तर्फबाट खेलेका थिए ।
उनले तीन खेल खेल्दै ६ विकेट हात पारेका थिए ।
चारदेशीय क्रिकेट सिरिज र आईसीसी पुरुष विश्वकप ग्लोबल छनोटका लागि नेपाली टोली मंगलबार नै ओमान जादैछ ।
ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमानसहित, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् । खेलहरु फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुनेछ ।
समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् । समूह ‘बी’ मा युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।
नेपालले ओमानविरुद्ध खेल्दै छनोटको सुरुआत गर्नेछ ।
नेपाल र ओमानबीचको खेल फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
नेपालको दोस्रो खेल फिलिपिन्सविरुद्ध अल अमेरात क्रिकेट ग्राउन्डमा फेब्रुअरी १९ मा हुनेछ ।
नेपालले तेस्रो खेल क्यानाडाविरुद्ध ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा फेब्रुअरी २१ मा खेल्ने तालिका रहेको छ।
समूह चरणको खेलपछि शीर्ष दुई टोली दुबै समूहबाट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
सेमिफाइनल खेलहरु फेब्रुअरी २२ तारिखमा हुनेछ ।
फाइनल भने फेब्रुअरी २४ तारिखमा ओमान क्रिकेट एकेडेमी ग्राउन्डमा हुनेछ ।
फाइनल प्रवेश गर्ने दुबै टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्नेछ ।
सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।
सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ ।
यस्तै दोसो खेल युएईसँग फेब्रुअरी १२ मा खेल्दा नेपालले फेब्रुअरी १४ मा आयरल्यान्डसँग खेल्नेछ ।
यस सिरिजलाई विश्वकप छनोटको अभ्यास खेलको रुपमा लिईएको छ ।