पोखरा । छैठौं अर्मला पर्वतीय पुरुष तथा महिला खुल्ला दौड प्रतियोगितामा पुरुषतर्फ सुमन कुलुङ र महिलातर्फ खेन्वीमाया राई प्रथम भएका छन् ।
श्रीपञ्चमीको अवसरमा अर्मलाकोट युवा क्लबले आइतबार पोखरामा आयोजना गरेको छैठौं संस्करणको १२ किलोमिटर पर्वतीय दौड अन्तर्गत कुलुङले निर्धारित दूरी ५० मिनेट ४८ सेकेण्डमा पार गर्दै प्रथम भए भने राइले १ घण्टा ७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरिन् । कुलुङले २० हजार प्राप्त गरे भने राईले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
त्यस्तै मोहनदेव जोशी दोस्रो, जितेन्द्र दनुवार तेस्रो र मोहनकुमार राई चौंथो भए । उनिहरुले क्रमसः १५, १० र ५ हजार प्राप्त गरे । महिलातर्फ संगीता विक दोस्रो, रिता गुरुङ तेस्रो भए । उनिहरुले क्रमसः ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।
त्यस्तै यसबर्ष देखि सुरु गरिएको दौडमा वडा १६ अन्तर्गतका सहभागी मध्ये साजन विक प्रथम, राजकुमार क्षेत्री दोस्रो, अजय गुरुङ तेस्रो र निथान परियार चौंथो भए । महिला तर्फ कोमली खड्का प्रथम र अस्मिता नेपाली दोस्रो भए । उनिहरुलाई क्लबको तर्फबाट प्रोत्साहन पुरस्कार प्रदान गरियो ।
उनिहरुलाई गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङ, खेपना प्रतिष्ठानका अध्यक्ष कर्णबहादुर गुरुङ, युके अर्मलाकोट अध्यक्ष जीतबहादुर गुरुङ, अर्मला विकाश मञ्चका अध्यक्ष तेज गुरुङ लगायतले पुरस्कार वितरण गरे ।
दौड प्रतियोगितामा ८० जनाले सहभागिता जनाएको प्रतियोगिता संयोजक जुम गुरुडले जानकारी दिए । क्लबले श्रीपञ्चमीको अवसरमा हरेक वर्ष पोखराको केआईसिंहपुलदेखि अर्मलाको खेल मैदानसम्म करिब १२ किलो मिटरको पर्वतीय दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।