काठमाडौं । नेपाल ओलम्पियन एसोसिएशनले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्ति को विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई नहुँदा खेलकुद क्षेत्र अनिर्णयको बन्दी बन्न पुगेको बताएको छ ।
ओलम्पियन एसोसिएशनले आइतबार एक विज्ञप्ति जारी गर्दै रिटको सुनुवाई नहुँदा खेलकुद अनिर्णयको बन्दी बनेको र एसियाली खेलकुदको तयारी, नवौं राष्ट्रिय खेलकुद, १४ औं साग र अन्य प्रतियोगिताको तयारीमा असर पुगेको जनाएको छ ।
एसोसिएशनले राखेपको नियमित काममा फर्काउन नेपाल सरकार र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण समेत गराएको छ ।
एसोसिएशनले सदस्य सचिवको विवादले कानुनी रुपमा किनारा नलाग्दासम्म वैकल्पिक व्यवस्था गरेर खेलकुदलाई चलायमान गराउन आग्रह समेत गरेको छ ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।