काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले खेलकुदको पूर्वाधारमा कन्जुस्याई नगरी लगानी बढाउनुपर्ने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले खेलकुदको पूर्वाधार विकासमा सरकारको पूर्ण सहयोग रहने बताए ।
‘क्यानका पदाधिकारीले भेटेर रात्रीकालिन खेल सञ्चालन गर्न लाईट हाल्न बजेट माग गर्नुभएको छ । सरकारको तर्फबाट लाईटको काम अघि बढाउन भनेको छु । खेलाडीलाई जिम लगायतको समस्या भनिएको छ । खेलकुद मन्त्रालयका सचिव ज्युको विशेष ध्यान जाओस भन्ने चाहन्छु ।’ शर्माले भने, ‘पूर्वाधार विकासमा कन्जुस्याई नगरी लगानी बढाउनुपर्छ भन्ने मेरो मान्यता छ ।’
अर्थमन्त्री शर्माले भने जस्तो पूर्वाधार खेलकुदले प्राप्त गर्न नसकेपनि सरकारले त्यसका लागि सक्दो प्रयत्न गर्ने बताए ।
उनले खेलकुदलाई प्रोत्साहन गर्ने कुरामा अर्थमन्त्रालयको पूर्ण सहयोग रहने उल्लेख गरे ।
‘सरकारको तर्फबाट पूर्वाधारमा भने जस्तो प्राप्त गर्न सक्नु भएको छैन । तर हाम्रो ध्यान त्यता गएको छ ।’ उनले भने, ‘सम्बन्धित मन्त्रालयले प्रक्रिया अघि बढाएमा अर्थ मन्त्रालयको पूर्ण समर्थन रहन्छ ।’
शर्माले पछिल्लो समय देशमा क्रिकेटप्रति आकर्षण बढेको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलाडीले राम्रो प्रर्दशन गरेको बताए ।
उनले दोस्रो पटक राष्ट्रिय क्रिकेट टिम सम्हाल्न नेपाल आएका मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई शुभकामना दिदै उनकै नेतृत्वमा नेपालले पुन विश्वकप खेल्ने अपेक्षा गरेको बताए ।