काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा राखेपको कर्मचारीतन्त्र उदासिन बनेको आरोप लगाएको छ ।
शुक्रबार बिज्ञप्ति जारी गर्दै संघले नवौं राष्ट्रिय खेलकुदको विषयमा बोर्डले नीतिगत निर्णय गरिसकेको उल्लेख गर्दै स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले काम नगर्दा समस्या आएको बताएको हो ।
‘बोर्डले नीतिगत रुपमा सबै निर्णय गरिसकेको अवस्थामा काम गर्नुपर्ने भनेको स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रले हो । कार्यकारी प्रमूखको मुद्धा छिनोफानो नभएसम्मको समयमा बोर्डको अघिल्लो निर्णयलाई आधार मानेर राखेपका विभिन्न विभागहरुले तयारीको काम गर्नुपर्नेमा दूर्भाग्य, केही हुन सकेको छैन ।’ संघका अध्यक्ष दिपक श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
‘नवौं राष्ट्रिय खेलकुद मात्र नभई अन्य गतिविधि, खेलाडीका प्रशिक्षण लगायतका विषय पनि राखेपको उदासिनताका कारण अलपत्र अवस्थामा छन् । उसै पनि उदासिन राखेपलाई अहिले झन अदालतको मुद्धा काम नगर्ने राम्रो बहाना बनेको छ । जवकि राखेपमा कार्यकारी प्रमूख वाहेक अरु सबै संरचना अहिले विद्यमान छन् ।’ विज्ञप्तिमा भनिएको छ ।
खेलाडी संघले सदस्य सचिवको विवादको मुद्धा अदालतबाट टुङ्गो नलागेसम्म राखेपका विभिन्न विभागलाई सक्रियताका साथ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न माग गरेको छ ।
संघले अदालतलाई छिटो भन्दा छिटो राखेपको सदस्य सचिवको मुद्धा टुङ्गो लगाएर खेलकुदलाई अनिर्णयको बन्दीबाट जोगाउन आह्वान गरेको छ ।
सरकारले नवौ राष्ट्रिय खेलकुद यस वर्ष फागुनमा गण्डकी प्रदेशमा आयोजना गर्ने तयारी गरेको थियो । तर राखेप सदस्य सचिवको विवाद अदालतमा प्रवेश गरेसँगै घरेलु खेलकुदको मुख्य प्रशासकीय निकाय कार्यकारी प्रमुख विहिन अवस्थामा छ ।
खेलाडी संघले फागुनमा गण्डकी प्रदेशमा गर्ने भनिएको राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्ला र प्रदेश छनोटको तालिका अझै सार्वजनीक नभएको उल्लेख गर्दै यसमा राखेप र मन्त्रालय गम्भीर नरहेको प्रमाणित भएको आरोप लगाएको छ ।