काठमाडौं । सर्वाधिक पुरस्कार राशी भएको पहिलो संस्करणको केटीएम रन प्रतियोगिता माघको तेस्रो साता आयोजना हुने भएको छ ।
आयोजक शेर्पा आउटडोरको केटीएम सिटीले शुक्रबार पत्रकार सम्मेलन गर्दै केटीएम रन माघ १५ गते (जनवरी २९) मा आयोजना हुने जानकारी गराएको छ ।
शनिबारको दिन आयोजना हुने केटीएम रन १० किलो मिटरको हुने आयोजक केटीएम सिटीले जनाएको छ ।
केटीएम रन पुरुष र महिला गरि दुई स्पर्धामा आयोजना हुनेछ । प्रतियोगिताको पुरस्कार पुरुष तथा महिलामा समान राशी रहेको छ ।
केटीएम रनको विजेताले ट्रफी सहित समान १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यो पुरस्कार १० किलोमिटर स्पर्धामा अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हो।
यस्तै, दोस्रो हुने दुवै स्पर्धाका खेलाडीले समान ५० हजार, तेस्रोले ३० हजार, चौथों हुनेले २० हजार, पाँचौं हुनेले १० हजार, छैटौं हुनेले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सातौंदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीलाई गिफ्ट भौचर प्रदान गरिने आयोजकले जनाएको छ ।

केटीएम रनको रुट काठमाडौंको दरबारमार्गबाट सुरु भएर भद्रकाली हुँदै सिंहदरबार, माईतिघर, बानेश्वर पुगेर पुन माईतिघर फर्किएर, थापाथली हुँदै त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, रत्नपार्क, जमल भएर दरबारमार्ग आएरै समापन हुनेछ ।
केटीएम रनको रेस डिरेक्टरमा शुशील नरसिंह राणा र प्राविधिक संयोजकमा राजन खत्री रहेका छन् ।
केटीएम रनका रेस डिरेक्टर राणाले १० किलोमिटर दौडको आयोजनाबाट खेलाडीले
अधिकतम भन्दा अधिकतम फाइदा पुग्ने बताए ।
‘खेलाडीले म्याराथन वर्षमा तीन पटक भन्दा धेरै दौडन सक्दैन । तर १० किलोमिटरको दौड ६ पटक भन्दा बढी दौडन सक्छ । यसले खेलाडीलाई एक्सपोजर पनि मिल्छ साथै म्याराथनका लागि खेलाडी तयार पनि हुन्छ ।’ उनले भने ।
केटीएम रनका म्यानेजर आशिष पौडेलले गौरवमय इतिहास बोकेको एथलेटिक्स प्रतियोगिता आयोजना गर्न पाउँदा खुसी लागेको बताए । उनले नेपालको ब्राण्ड केटीएम सिटीले घरेलु खेलकुदको समग्र विकासमा सहयोग पुर्याउने उद्धेश्यले योजनाबद्ध तरिकाले अघि बढिरहेको बताए ।
केटीएम रनमा सहभागी हुने खेलाडीका लागि ९ सय ९० रुपैयाँ दर्ता शुल्क राखिएको छ । सहभागी खेलाडीलाई आयोजकले टिसर्ट सहितका सामाग्री उपलब्ध गराउनेछ ।
केटीएम रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको सहभागीता खुल्ला गरिएको छ । खेलाडीले पुस २९ गतेबाट माघ १३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् ।
खेलाडीले अनलाईनमा केटीएम रन डट कममा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन् । यस्तै केटीएम सिटीको जावलाखेल, ठमेल, दरबारमार्ग, बौद्ध र पुरानो बानेश्वरस्थित आउटलेटमा गएर नाम दर्ता गर्न सक्नेछन् ।
नेपालकै घरेलु ब्राण्ड केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य प्रायोजक हो ।