काठमाडौं । फेरि एकपल्ट फिलिपे कोउटिन्होकै कुरा । यी ब्राजिली खेलाडी इंग्लिस प्रिमियर लिगमा फर्कने तय जस्तै देखिएको छ । खालि प्रश्न हो, कुन क्लबमा ? जनवरीको ट्रान्सफर विन्डामा उनले बार्सिलोना छाड्न पनि निश्चित जस्तै छ । अहिल तत्काल यी लिभरपुलका पूर्व खेलाडीलाई अनुबन्ध गर्न सबैभन्दा बढी सम्भावना एस्टन भिल्लाको रहेको छ।
संयोग कस्तो भने भिल्लाका अहिलेका व्यवस्थापक हुन्, लिभरपुलकै पूर्व खेलाडी स्टेफन जेरार्ड । कोउन्टिन्होले लिभरपुल छँदा जेरार्डसँग खेलेका थिए । त्यसैले उनी भिल्ला आउने भए, यी दुईको पुर्नमिलन हुनेछ । कोउन्टिन्हाले लिभरपुलमा भएको बेला गज्जब खेलेका थिए, त्यसैले जेरार्डको उनको खेलको पारखी हुन् ।
यो सिजन बार्सिलोनाका लागि कोउन्टिन्होले खासै खेल्न पाइरहेका छैनन् । अधिकांस समय उनी वेञ्चमै छन् । अन्य खेलाडीलाई किन्न पनि बार्सिलोना उनलाई सस्तोमै भएपनि बेच्न चाहन्छ । कोउटिन्हो आफै पनि यो बेला बढी भन्दा बढी खेल्न चाहन्छ, किनभने बढी खेल्न पाए मात्र उनले कतारमा यसै वर्ष हुने विश्वकपको टिकट काट्ने सम्भावना हुन्छ ।
भन्न के पनि भनिएको छ भने सस्तोमा पाए, लिभरपुलले पनि उनलाई किन्ने बेर छैन् । कोउटिन्होलाई किन्न तयार सूचीमा न्युकासल युनाइटेड पनि रहेको छ । साउदी लगानी भित्रिएपछि त न्युकासलसँग खेलाडी किन्ने प्रसस्त पैसा छ । टोटनहमले पनि कोउटिन्होमा नजर लगाएको छ, यस्तोमा हेरौं, यी ब्राजिली खेलाडी जाने छन् त कता ?
–मार्काको सहयोगमा ।