काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले एन्फाको कार्यकारिणी समिति बैठकमा आफ्नो धारणा राख्न दिन माग गरेका छन् ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पत्र लेख्दै पूर्व अध्यक्ष थापाले आफुमाथि विभिन्न निकायमा लगाईएका भ्रष्टाचार सम्बन्धि निराधार आरोपबारे संघको कार्यकारिणी समितिमा आफ्नो मत राख्न दिन माग गरेका हुन् ।
थापा एन्फा नेतृत्वमा रहेको समय फुटबल संघभित्र भ्रष्टाचार, आर्थिक अनियमितता र पारदर्शीता नभएको आरोप सहित वर्तमान अध्यक्ष शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ सहितका नेताहरुले सरकारी तथा अन्तराष्ट्रिय निकायमा उजुरी गरेका थिए ।
सोही आरोपले आफु र आफ्नो परिवारमा गहिरो मानसिक आघात पुगेको थापाले पत्रमा उल्लेख गरेका छन् ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट भ्रष्टाचारको आरोपमा कारबाही भोगिरहेका थापाले आफुमाथि एन्फाका वर्तमान अध्यक्ष शेर्पा सहितका नेताले लगाएको आरोपको खण्डन गर्दै आएका छन् ।
संसदको सार्वजनीक लेखा समितिदेखि अख्तियार दुरुपयोप अनुसन्धान आयोगमा भ्रष्टाचारको आरोप लगाउने शेर्पा सहितका समूहले आफ्नो सार्वजनीक छबीमा आँच पुर्याएको थापाको गुनासो छ ।
थापाले सार्वजनीक रुपमा पत्र लेख्दै एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न खुल्ला चुनौती दिएका छन् ।
एन्फाको कार्यसमितिको बैठक पुस २२ गते बस्दैछ । सोही बैठकमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग थापाको छ ।
आफु फिफाबाट फुटबलमा प्रतिबन्धित भएपनि आरोपमाथि धारणा राख्ने विषय कुनै फुटबल गतिविधि नभएको र नितान्त व्यक्तिगत विषय भएको थापाको दाबी छ ।
उनले आफुमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिदै अन्यथा विना आधार आरोप लगाएको कारण स्वयम कार्बाहीको भागिदार बन्न एन्फा अध्यक्ष शेर्पालाई पत्रमा चुनौती दिएका छन् ।