काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सोमबार हिमालयन शेर्पाले संघर्षपूर्ण जित निकाल्यो ।
शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।
शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले पेनाल्टीमा निर्णायक गोल गरे ।
तर, जितबाट शेर्पाका मुख्य प्रशिक्षक युगल किशोर राई खुशी देखिएनन् । उनले रंगशालाको मैदानको गुणस्तरमा प्रश्न उठाए ।
'मैदान भएन । सधै एकै मैदानमा खेल भएर मैदानको अवस्था खराब भयो । ऐदन खेल्न लायक भएन । यो बिषय पनि आउनु पर्छ । क्लबले धेरै लगानी गरेको छ,' उनले भने ।
प्रशिक्षक राईले टोलीले जित निकाले पनि सातदोबाटोले राम्रो खेलेको बताए ।
'गोल जोगाउन निकै गाह्रो भयो । सातदोबाटोले राम्रो खेलेको हो । हामीले बढी दबाबमा खेल्यौ,' उनले थपे ।
सातदोबाटोका सहायक प्रशिक्षक सुरज महर्जनले खेल राम्रो खेलेपनि पेनाल्टी चुक्दा पराजित भएको बताए ।
'खेल राम्रै खेलेको हो । सानो गल्तीले गर्दा पेनाल्टी मिस भयो । उसले हानेको राम्रै थियो । तर गोलरक्षकले राम्रो जज गरे,' उनले भने, 'लिग अझै बाँकी छ । तर आजको हारले तालिकामा केही असर त पर्छ । त्यो सुधार्दै लैजाने छौँ ।'