इलाम । झापाको शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगितामा मंगलबार विर्तामोड नगरपालिका, चुलाचुली गाउँपालिका र कमल गाउँपालिका विजयी भएका छन् ।
विर्तामोड नगरपालिकाले उपाधि दाबेदार मोरङको बेलबारी नगरपालिकामाथी जित हात पार्दा चुलाचुली गाउँपालिकाले गौरादह नगरपालिकालाई पराजित गरेको हो ।
विर्तामोडले बेलबारीमाथी २५–१४, २५–२२ र २५–१९ को सोझो सेटमा जित निकालेको हो । सो खेलको म्यान अफ दि म्याच विर्तामोडका धुब्र भण्डारी घोषित भए ।
त्यस्तै इलामको चुलाचुली गाउँपालिकाले गौरादह नगरपालिकामाथी १९–२५, २५–१५, २५–२० र २५–१३ को सेटमा जित निकालेको छ । पहिलो सेट २५–१९ ले गुमाएको उसले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेटमा जित निकालेको थियो । खेलको म्यान अफ दि म्याच चुलाचुलीका विनोद श्रेष्ठ घोषित भए ।
अर्को खेलमा सभापोखरी गाउँपालिका संखुवासभा अनुपस्थित भएपछि कमल गाउँपालिका विजयी घोषित भएको थियो । बुधबार पनि तीन खेल हुनेछन् ।
बुधबारको पहिलो खेलमा आमचोक गाउँपालिका भोजपुर र अर्जुनधारा नगरपालिका झापा आमने–सामने हुँदा दोश्रो खेलमा भद्रपूर नगरपालिका झापा र ट्याम्के मैँयु गाउँपालिका भोजपुर प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै बुधबारको तेश्रो तथा अन्तिम खेलमा आयोजक झापा गाउँपालिका र चुलाचुली गाउँपालिका इलाम आमने–सामने हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार हात पार्नेछ भने उप–विजेताले नगद एक लाख प्राप्त गर्नेछ ।
प्रतियोगितामा प्रदेश नम्बर एकका १६ पालिकाहरुको सहभागिता रहेको छ ।