काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बंगलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टिमको बिदाई गरेका छन् ।
आईतबार खेलकुद मन्त्री गहतराजले बंगलादेशमा हुने एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक, अफिसियललाई राष्ट्रिय झण्डा सहित बिदाई गरेका हुन् ।
बंगालदेशमा हुने प्रतियोगिता डिसेम्बर २१ देखि २९ सम्म आयोजना हुदैछ । नेपाली टिम सोमबार मध्यान्न बंगलादेश उड्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा खेलकुद मन्त्री गहतराजले प्रतियोगिताको उद्धेश्य जित्नुमात्र रहने उल्लेख गर्दै राष्ट्रिय पहिचान दिलाउने लक्ष्य सहित मैदानमा खेल प्रर्दशन गर्न शुभकामना दिएका थिए ।
उनले खेलाडीको खेल जिवनपछिको अवस्थाका बारेमा मन्त्रालयले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको उल्लेख गर्दै समस्याका बीच जित्ने नेपालीको चरित्र स्मरण गराएका थिए ।
उनले अबका केही हप्ता बंगलादेशमा नेपालीको नजर रहने उल्लेख गर्दै स्वर्ण पदक सहित जितेर आउन शुभकामना दिएका थिए ।
कार्यक्रममा संघका महासचिव जितेन्द्र चन्द्रले राष्ट्रिय टिमको तयारीको सन्दर्भमा जानकारी गराएका थिए । उनले तयारी राम्रो रहेको उल्लेख गर्दै नेपालले उपाधिका लागि बंगलादेशमा प्रतिस्पर्धा गर्ने बताए ।
राष्ट्रिय पुरुष टिमका कप्तान इम रानाले प्रतियोगितामा पुरुष टिमले पदकका लागि प्रतिस्पर्धा गर्ने बताए । बलियो टिमविरुद्ध उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य नेपाली टिमले राखेको कप्तान रानाले सुनाए ।
राष्ट्रिय महिला टिमकी कप्तान अरुणा शाहीले नेपाल साविक विजेता रहेको उल्लेख गर्दै उपाधि रक्षा गर्ने अभियान सहित कोर्टमा उत्रने बताईन् ।