काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का तीन उपाध्यक्षसहित ७ जना केन्द्रिय सदस्यले केन्द्रिय कार्य समितिको बैठक राख्न माग गरेका छन् ।
वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्बाङ, उपाध्यक्षद्धय कृष्ण बहादुर थापा र वीर बहादुर खड्का सहित सदस्यहरु किरण राई, दिनेश व्यञ्जनकार, निरोज खड्गी र दावा लामाले बैठक बस्न एन्फामा बिहीबार पत्र दर्ता समेत गराएका छन् ।
‘एन्फाको केन्द्रीय कार्यसमितिको बैठक लामो समयदेखि बस्न सकिरहेको छैन । जसले गर्दा फुटबल खेलको विकासको सम्बन्धमा विभिन्न महत्वपुर्ण विषयमाथि छलफल हुन नसक्दा सिङ्गो फुटबल खेलको विकासमा गतिरोध देखापरेको र संघ सञ्चालनमा विधि, प्रक्रिया बिहिन ढंगबाट संचालन भइरहेको छ ।’ पत्रमा उल्लेख छ ।
पत्रमा थप भनिएको छ, ‘आगामी २०७९ बैशाख महिनामा संघको साधारण सभा र निर्वाचन गर्नु पर्ने भएकोले पनि तत्काल बैठकबाट जिल्ला, प्रदेश र केन्द्रको साधारण सभा र निर्वाचन सम्बन्धी कार्यतालिका लगायत फुटबल खेलको विकाससँग सम्बन्धी जिल्ला लिग, प्रदेश लिग, ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, राष्ट्रिय लिग संचालनबारे छलफल गर्न आवश्यक देखिएको छ ।’
‘अन्य आवश्यक विषयमा समेत छलफल गर्नको लागि संघको अध्यक्षलाई पटकपटक अनुरोध गर्दा पनि बेवास्ता गर्नु भएकोले संघको विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमिति बैठक आयोजनाको माग गर्दछौं ।’ पत्रका उल्लेख गरिएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले पुस १२ वा १३ गते एन्फा बैठक राख्ने विषयमा तयारी भईरहेको बताए ।
‘मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी तथा वरिष्ठ उपाध्यक्ष पंकज ब्रिकम नेम्बाङबीचको विवाद र फुटबल प्रतियोगिताको विषयमा बैठक बसेपनि अन्य विषयमा भने छलफल हुन सकेको छैन । अबको बैठकमा सम्पुर्ण विषयमा छलफल हुनेछ ।’ तुलाधरले भने ।