उपाधि रक्षा गर्ने लक्ष्यमा नेपाल

Women Volleyball.jpg
काठमाडौं । नेपाली महिला राष्ट्रिय भलिबल टिमले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको उपाधि रक्षा गर्ने योजनामा रहेको छ ।
नेपाली महिला टोलीले सन् २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
टिमका प्रमुख प्रशिक्षक जगदिश भट्टले नेपाललाई एक पटक फेरी स्वर्ण पदक दिलाउने हिसाबले तयारी भइरहेको बताए ।
‘नेपालले पछिल्ला दुई वर्ष अन्तर्राष्ट्रिय सहभागिता नजनाएपनि प्रतिद्धन्दीहरुको पनि तयारी नेपाल जस्तै तथा अन्तर्राष्ट्रिय सहभागिता न्यून भएको अवस्थामा नेपाललाई फेरी एक पटक गोल्ड मेडल दिलाउन सकिने तरिकाले लागिपरेका छौ,’ प्रशिक्षक भट्टले भने ।
उनका अनुसार नेपाली टोलीको स्तर दक्षिण एसियाली खेलकुदमा रजत तथा सेन्ट्रल जोनमा स्वर्ण जितेको टिम भन्दा माथिल्लो स्तरको रहेको छ ।
‘पहिलाको जुन टिमले दक्षिण एसियाली खेलकुदमा रजत र सेन्ट्रल जोनमा स्वर्ण जित्यो, त्यो भन्दा अहिलेको टिमको स्तर माथिल्लो स्तरको रहेको छ,’ प्रशिक्षक भट्टले थपे ।
प्रशिक्षक भट्टका अनुसार सुरुआतमा खेलाडीहरुमा फिटनेशको समस्यादेखिएपनि अहिले त्यो समाधान भएको छ ।
कप्तान अरुणा शाहीले पनि टिमको लक्ष्य च्याम्पियन बन्ने नै रहेको बताईन् ।
‘यस अघि हामी च्याम्पियन भएका थियौ र अहिलेको लक्ष्य पनि च्याम्पियन हुने नै छ,’ शाहीले भनिन् ।
उनका अनुसार नेपाली टिममा नयाँ खेलाडीहरुको आगमनले टिममा उत्साह थपिएको तथा खेलाडीहरुबीचको तालमेल राम्रो भइरहेको छ ।
‘नयाँ खेलाडीहरुको आगमन भएको छ । त्यसले गर्दा पनि तयारी राम्रो छ । नयाँ खेलाडीको आगमन टिमका लागि अवसरको रुपमा रहेको छ । युवा खेलाडीहरु छन्, मेहनत गर्ने खालका छन्, त्यसैले तालमेल राम्रो भइरहेको छ,’ शाहीले थपिन् ।






-1769690582903.jpeg&w=3840&q=75)







