काठमाडौं । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले आइतबार एक कार्यक्रमबीच लेबनानको बेरुतमा हुने एसियन ओसियाना क्याडेट र जुनियर जुडो च्याम्पियसिपमा सहागी हुने जुडो टोलीलाई शुभकामना सहित बिदाइ गरेका छन् ।
डिसेम्बर २ देखि ५ सम्म हुने प्रतियोगितामा सहभागी टोली प्रशिक्षकसहित पाँच सदस्यीय रहेको छ ।
टोलीको प्रशिक्षकमा मोहन सुनुवार रहेका छन् भने खेलाडमा देवकीमाया श्रेष्ठले जुनियर ५२ केजीमुनि, सुबोध मण्डलले जुनियर ६० केजीमुनि, निशा श्रेष्ठले क्याडेट ४८ केजीमुनि र ताराबहादुर भुजेलले क्याडेट ५५ केजीमुनिमा चुनौती पेस गर्नु हुनेछ । बिदाइ अवसरमा अध्यक्ष श्रेष्ठले टोलीको सफलताको कामना गर्दै खेलाडीले उच्च प्रदर्शन गर्न सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यको पनि उपस्थिति थियो । निशा र सुबोधले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागिता जनाइसकेका छन् । निशा र ताराबहादुरको भने यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हुनेछ । प्रतियोगितामा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले विशेषज्ञका रूपमा सहभागी हुनेछन् ।
उनले जुडो युनियन अफ एसिया (जेयूए) को कार्यकारी कमिटीको बैठकमा पनि भाग लिनु हुनेछ । वज्राचार्य जेयूएको इजुकेसन एन्ड कोचिङ निर्देशक पनि हुन् । यस्तै सुप्रसिद्ध ताम्रकारले प्रतियोगितामा स्पोर्टस डाइरेक्टर आईटी एक्सपर्टका रूपमा सहभागी जनाउने छन् । प्रतियोगितामा सहभागी चार खेलाडी असोजमा भएको छनोट प्रतियोगिताबाट छानिएका हुन्।